काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डिपी अर्याल निर्विरोध भएका छन् ।

उम्मेदवारी मनोनयनको अवधि शुक्रबार दिउँसो साढे २ बजेसम्म अर्यालको मात्र एकल उम्मेदवारी परेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संसद् सचिवालयले अन्तिम नामावली प्रकाशन गरेको छ । अर्याल निर्विरोध भए पनि अब प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । प्रतिनिधिसभाको बैठकले निर्वाचित गरिएको घोषणा गरेपछि उनले त्यही दिन पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्नेछन् ।

अर्यालले शुक्रबार दिउँसो आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। राप्रपा सभापति रवि लामिछानेले अर्याललाई सभामुखको उम्मेदवारको रूपमा प्रस्ताव गरेका थिए । उनको उम्मेदवारीलाई सांसद स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनील लम्सालले समर्थन गरेका थिए ।