काठमाडौं । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमल्सिनालाई राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा उनले परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै नवगठित सरकारलाई मार्गप्रशस्त गर्न नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु । यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्गप्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु,’ उनले भनेका छन् ।
झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् । उनी २०७९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट राससको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । सञ्चार मन्त्रालयले झाको राजीनामा स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने भएको छ । रास्वपा सरकारले अघिल्ला सरकारका पालामा राजनीतिक नियुक्ति खाएकालाई राजीनामा दिन सल्लाह दिएपछि झाले पदबाट राजीनामा दिएका हुन् ।






