काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।बैठकले गत भदौ २३/२४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले बैठकपछि जानकारी दिँदै आयोगले सिफारिस गरेका विषयमध्ये सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययनका लागि नयाँ समिति गठन गरिने र अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गरिने बताए।

ADVERTISEMENT

पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको उक्त आयोगले तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओली  तत्कालीन गृहमन्त्री रमेश लेखक, तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ  लगायतलाई कारबाहीका लागि सिफारिस गरेको थियो।उक्त प्रतिवेदन तत्कालीन प्रधानमन्त्री शुशिला कार्कीलाई बुझाइएको थियो भने अब सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, बैठकले जेनजी आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ। साथै शासकीय सुधारका विभिन्न योजनाहरू पनि स्वीकृत गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

यसअघि प्रधानमन्त्री शाहले सिंहदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रीहरू र सचिवहरूलाई प्रभावकारी कामकाज र सुधारमुखी नीति अवलम्बन गर्न निर्देशन दिएका थिए।