काठमाडौं । राजधानी काठमाडौंमा ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सेतो मच्छिन्द्रनाथ जात्रा आजबाट औपचारिक रूपमा सुरु भएको छ। मच्छिन्द्र बहालबाट आर्याअवलोकितेश्वरको मूर्तिलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्राको शुभारम्भ गरिएको हो।
सेतो मच्छिन्द्रनाथलाई करुणामय तथा आर्याअवलोकितेश्वरका नामले पनि चिनिन्छ। वर्षा र सहकालका देवता मानिने उहाँको रथयात्रा काठमाडौं उपत्यकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ। विशेषगरी उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउने उद्देश्यले रथलाई नगर परिक्रमा गराउने परम्परा रहेको छ।
परम्पराअनुसार जनबहालबाट सुरु भएको यात्रा जमलमा बनाइएको रथमा प्रतिस्थापन गराएपछि नगर परिक्रमा गराइन्छ। यस क्रममा रथलाई मच्छिन्द्र बहाल, तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केलटोल, इन्द्रचोक मखन, हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म पुर्याइन्छ।
जात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई रथले तीन पटक परिक्रमा गराएपछि विधिवत् समापन गरिने चलन छ।
धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सामुदायिक सहभागिताको प्रतीक मानिने यो जात्राले काठमाडौंको परम्परागत जीवनशैली र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउँदै आएको छ।







