काठमाडौं। रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर काठमाडौंमा तस्बिर प्रदर्शनी सुरु भएको छ।नयाँ बानेश्वरस्थित उमोजा कफीमा एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा ‘गतलाङका महिलाको सङ्घर्ष’ शीर्षक प्रदर्शनी सुरु गरिएको हो।

प्रदर्शनीमा फोटो पत्रकार केशवराज थोकर ले खिचेका १६ वटा तस्बिर प्रस्तुत गरिएका छन्। तस्बिरमार्फत ग्रामीण महिलाको दैनिक जीवन, श्रम, संघर्ष र उनीहरूको योगदानलाई जीवन्त रूपमा चित्रण गरिएको छ।

आयोजकका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य ग्रामीण महिलाको भूमिका उजागर गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्नु हो। प्रदर्शनीको उद्घाटन आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ को प्रमुख आतिथ्यमा गरिएको हो।प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुनेछ।

ADVERTISEMENT

करिब ६ सय घरधुरी रहेको गतलाङ गाउँ तामाङ र दलित समुदायको बसोबास क्षेत्र हो। यहाँको जीवनशैली कृषि, पशुपालन तथा पर्यटनमा आधारित छ। विशेषगरी महिलाहरूले घरायसी कामदेखि खेतीपाती, पशुपालन तथा ऊनबाट राडीपाखी उत्पादनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

ADVERTISEMENT

दोलखामा जन्मिएका थोकर विगत करिब दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन्। उनले ‘नेपाल समाचारपत्र’बाट पत्रकारिता यात्रा सुरु गरी ‘नागरिक दैनिक’ लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन्। हाल उनी स्वतन्त्र रूपमा कार्यरत छन्।

ADVERTISEMENT

उनको ‘लाइफ इन प्यान्डेमिक’ नामक फोटो पुस्तक प्रकाशित भइसकेको छ, जसमा कोभिड–१९ महामारीका प्रभावहरू समेटिएका छन्। समाजमा ओझेलमा परेका विषयलाई फोटोकथामार्फत उजागर गर्ने लक्ष्य लिएका थोकरले “आवाजविहीनहरूको आवाजलाई दृश्य कथामार्फत प्रस्तुत गरिरहनेछु,” बताएका छन्।

तस्बिरहरु :