काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ ।

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन आयोजना उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन अधिकृत राजाराम चौधरी, अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीका नेपालस्थित परामर्शदाता यमबहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडीसमेत २१ जना, ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गेको छ ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा बदनियत राखी आपसी मिलेमतोमा सम्झौताको सर्त र प्रचलित कानुन विपरीत भुक्तानी लिई दिई सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार गरेको,’ आरोप पत्रमा भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना भराउन अख्तियारको माग छ । साथै, सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन साथै, सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।