झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्‍याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ ।

पूर्णटुंग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा. चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ ।

ADVERTISEMENT

अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख कार्कीले बताए ।

ADVERTISEMENT

घरै बसेर स्वास्थ्यलाभ गरिरहेका क्यान्सरका बिरामीका लागि होम केयरले प्रदान गर्ने उपचार सेवा वरदान सावित हुने गरेको छ । जुनसुकै समयमा खबर आउनासाथ होम केयरको चिकित्सा टोली आवश्यक उपकरण र औषधिसहित बिरामीको घरमै पुग्ने गरेको उनले बताए ।

होम केयरको चिकित्सा टोलीमा अनुभवी चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट र कर्मचारी प्रत्यक्ष रूपमा जोडिएका छन् । जिल्लाको विभिन्न सहरका स्थानीय अनुभवी नर्स र हेल्थ असिस्टेन्टहरू होम केयरको नेटवर्कमा जोडिएको हुँदा जुनसुकै बेला र अवस्थामा जहाँ पनि उपचार पुर्याउन सहज भएको उनले बताए ।

ADVERTISEMENT

टोलीले एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायतका सेवा घरमै उपकरण पुर्याएर दिने गरेको छ भने रगत, पिसाब, दिसालगायत जाँच सेम्पल लिएर प्रयोगशालामा जाँच गरी घरमै रिपोर्ट उपलब्ध गराउँदै आएको छ ।

रोजगरीका क्रममा छोराछोरी टाढा रहेको परिवारका वृद्धावस्थाका बुबाआमा बिरामी पर्दा एम्बुलेन्स खोजेर अस्पताल पुर्याउने र कुरुवा बस्ने आफन्त तत्काल पाउन पनि कठिनाइ पर्न सक्छ । यस्तो अवस्थामा होम केयरको सेवा झनै प्रभावकारी हुने गोमेन्द्र महाविद्यालयका अध्यापक आशीष शर्मा बताउँछन् ।

‘विदेशतिर होम केयर सेवा प्रचलित नै हुन्छ, तर हाम्रो ठाउँमा नयाँ हो’, उनले भने, ‘हाम्रो परिवारले पनि जीवन रक्षा होम केयरको सेवा लिएको छ । डा कार्कीको टिमको सेवाभाव प्रशंसनीय लाग्यो ।’

होम केयरको चिकित्सा टोलीले भेन्टिलेटरसहितको एम्बुलेन्समा जटिल बिरामीलाई काठमाडौँ, विराटनगर, धरान र सिलीगुढीका सुविधासम्पन्न अस्पतालमा सुरक्षित पुर्याउने सेवासमेत प्रदान गर्दै आएको छ भने जिल्लाकै कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको हेरचाह गरिदिने कुरुवा सेवा दिँदै आएको छ ।

होम केयर सेवालाई व्यापार गर्ने थलो नबनाउने र सामाजिक सेवाको माध्यम बनाउने संस्थापक डा. कार्कीको भनाइ छ । घरमै सेवा पुर्याएबापत होम केयरले लिने सेवा शुल्क महँगो छैन । सामान्य ड्रेसिङका लागि ३०० देखि ३५० र डाक्टर भिजिटको न्यूनतम शुल्क लिएर होम केयरले अहोरात्र जुनसुकै देहाती बस्तीमा स्वास्थ्य सेवालाई सर्वसुलभ पुर्याइरहेको छ । वृद्धाश्रमहरूमा ‘बेसलाइन रेट’मा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेर विर्तामोडका विभिन्न वृद्धाश्रमहरूमा होम केयरले प्रस्ताव पठाएको जनाएको छ ।

बिर्तामोडबाट सुरु भएको ‘जीवन रक्षा होम केयर’को सेवालाई विराटनगरमा पुर्याइसकेको र धरानमा चाँडै पुर्याउने लक्ष्य रहेको डा कार्कीले सुनाए । होम केयर सेवा दिने कोशी प्रदेशकै पहिलो संस्था जीवन रक्षा होम केयरले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा पुर्याइरहेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रमसमेत यसले गर्दै आएको छ ।

पूर्वाञ्चल युनिभिर्सिटीमा एमबीए अध्ययनरत कार्की व्यवस्थापकीय रूपमा पनि स्वास्थ्य क्षेत्रलाई नयाँ प्रविधिमार्फत सुधार्ने प्रयास गरिरहेको बताउँछन् । मोबाइल एपमार्फत टेलिमेडिसिन सेवा दिने र कारागार तथा सुधारगृहमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको उनले बताए ।