काठमाडौं । बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै छ। आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा देवीको पूजा, जमरा अर्पण तथा विभिन्न शक्तिपीठमा दर्शन गर्ने परम्परा छ।
महानवमीका अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोत तथा देवी मन्दिरहरूमा विशेष पूजाआराधना गरिनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।
यस दिन नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ। महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्नुका साथै दुर्गाको प्रतीक मानेर कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ।
महानवमीमा विभिन्न शक्तिपीठमा पशुबलि दिने परम्परा छ। हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन कतिपय स्थानमा रहेको छ। शाकाहारीहरूले भने कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल बलि दिएर पायस चढाउने गर्छन्।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।
महानवमीका अवसरमा कोत तथा निशानापूजा पनि गरिन्छ। हनुमानढोका दरबार क्षेत्रका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा तथा कोतपूजा गर्ने परम्परा छ।
यसैबीच, काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एक दिन महानवमीका अवसरमा मात्रै खुल्ने यस मन्दिरमा बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
नवरात्रको अन्तिम दिन महानवमीका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।











