काठमाडौं । बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदै छ। नवरात्रको नवौँ दिन आज दुर्गा देवीको नवौँ स्वरूप माता सिद्धिदात्री र महालक्ष्मीको पूजा गर्ने परम्परा छ।
महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजाआराधना गरिन्छ। यस दिन कलपूर्जा, हातहतियार, मेसिनरी सामान तथा सवारीसाधनको पूजा गर्ने चलन छ। कतिपय स्थानमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिइन्छ भने शाकाहारीहरूले कुभिन्डो, घिरौँला, मुला, काँक्रो तथा जटा नरिवल बलि दिएर पायस (खिर) चढाउने गर्छन्।
यसै अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ। विश्व सम्पदा सूचीमा रहेको यस मन्दिर वर्षमा एक दिन, महानवमीका अवसरमा मात्रै सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा छ।
दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार भक्तजनले आज दिनभर मन्दिरमा पूजा, आराधना तथा दर्शन गर्न सक्नेछन्। हरेक वर्ष महानवमीमा तलेजु भवानीको दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १० बजेर ३९ मिनेटको साइतमा देवीलाई स्थिरासन गराइएको थियो।
तलेजु भवानीलाई मूलचोकमै राखेर कालरात्रि पूजा गरिने परम्परा छ। दरबार हेरचाह अड्डाका अनुसार यस अवसरमा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिन्छ। विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिनेछ।
कात्तिक ४ गते बुधबार विजयादशमीका दिन समितिले निर्धारण गरेको साइतअनुसार बिहान १० बजेर ५१ मिनेटमा देवीको यात्रा गराइने र ११ बजेर ५२ मिनेटमा मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम छ।
महानवमीलाई दसैँको महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। यस दिन शक्ति, समृद्धि र सुरक्षाको कामना गर्दै देवीको आराधना गर्ने तथा घर, कार्यस्थल र प्रयोगमा रहेका उपकरणको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ।











