ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ बालमैत्री वडा घोषित भएको छ । ‘सम्मानित बालापनःसुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार’ भन्ने नाराका साथ बिहीवार गोदावरी नगरपालिका ३ बालमैत्री वडा घोषणा भएको हो ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा हुनेगरी काम अगाडि बढेको जानकारी दिए ।फुयाँलले यो घोषणाले थप नयाँ सभ्यताको सुरुवात गरेको भन्दै २०७२ सालको संविधानले सुरु गरेको नयाँ अधिकारको कार्यान्वयनमा गोदावरी नगरपालिकाले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे ।
‘अधिकार संविधानमा लेखेर मात्रै सुनिश्चित हुँदैन, त्यसका लागि सफल कार्यान्वयन पनि आवश्यक छ, बालमैत्री वडा घोषणाका लागि सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गर्दछु, दुई बर्षदेखि निरन्तर क्रियाशील भएर निरन्तर काम गर्न सफल भएकोमा खुसी मिलेको छ,’ उनले भने ।
फुयाँलले वडाभित्रका प्रत्येक नागरिकलाई जानकारी दिन बालमैत्री वडा घोषणा तामझामका साथ गर्नुपरेको बताउँदै गोदावरीलाई अझै थप सुन्दर बनाउँदै पर्यटकको आकर्षणको केन्द्र बनाउन संघ प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
नगर प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाभित्र सबैलाई सुरक्षित रहने वातावरण तयार गरेर विकास निर्माणका गतिविधि अगाडि बढाउने जानकारी गराउँदै नगरभित्रका बाँकी रहेका दुईवटा वडा पनि यसै महिना बालमैत्री वडा घोषणा हुने बताए। उनले अर्को महिना नगरपालिका बालमैत्री स्थानीय तह घोषणा हुने जानकारी गराउँदै बालश्रम र बालबिवाहमुक्त स्थानीय तहको सुनिश्चितताका लागि अनुगमनलाई तिव्रता दिने प्रतिवद्धता जनाए ।
बालबालिकालाई सामाजिक सञ्जालमा आउने गलत सुचनाहरुबाट प्रभावित नहुन आग्रह गर्दै सचेत रहन अनुरोध गर्दै उनले देशका सचेत नागरिक तयारका लागि तल्लो तहदेखि नै ध्यान दिएर लाग्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले नेपालले विश्व बालअधिकार अभिसन्धिमा हस्ताक्षर गर्नुका साथै देशको संविधानमा समेत समेटेको जानकारी गराउँदै त्यहीअनुसार नीतिगत व्यवस्था गर्दै बालमैत्री स्थानीय शासनमा जोड दिइएको बताए। उनले राष्ट्रियस्तरमा तय गरिएको नीतिअनुसार सबैखालक सूचक पूरा गरेकोले बालमैत्री घोषणा भएको जानकारी गराउँदै स्थानीय, प्रदेश र संघले एकआपसमा मिलेर सहकार्य गर्दै बालसंरक्षण, बालविकास र बलप्रतिभा प्रस्फुटनमा लाग्नुपर्नेमा जोड दिए।
गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले बालबालिकाहरुका हकहीतका साथै स्थानीय विकास निर्माणमा जनप्रतिनिधिहरुलाई खबरदारी गर्न बालबालिकालाई आग्रह गरिन् । उनले सामाजिक सञ्जालको अत्याक प्रयोग र सचेतनाको कमीले बालबालिकार अभिभावकबीचको अन्तरसम्बन्धलाई कमजोर बनाउँदै लगेको भन्दै यसतर्फ ध्यानदिएर सचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
किटनी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बालबालिकालाई सबैभन्दा राम्रो बातावरण र अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकदेखि समुदायका सबैको महत्त्वपूर्ण भूमिका रहेको भन्दै बालमैत्री व्यवहार र शासनका लागि हरेकले आत्मसात गर्दै दायित्व पूरा गर्नुपर्नेमा जोड दिए
गोदावरी नगरपालिका ३ का अध्यक्ष सानुराज घिमिरेले बालमैत्री वडा घोषणासंगै यसलाई दिगो बनाउन ध्यान दिने बताए। उनले विद्यार्थी र विद्यालयलाई ध्यान दिएर प्रेरित र उत्प्रेरित गर्दै अगाडि बढ्नेमा जोड दिए ।






