काठमाडौं। कतारले इरानका राजदूतसहित दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ। रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणपछि कतारले कडा कदम चाल्दै उनीहरूलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेको हो।
कतारको परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणपछि इरानका सैन्य तथा सुरक्षा सहचारीहरूलाई २४ घण्टाभित्र देश छोड्न निर्देशन दिइएको छ। यस कदमलाई बारम्बार भइरहेका इरानी आक्रमणप्रतिको प्रतिक्रिया भनेर व्याख्या गरिएको छ।
रास लाफानस्थित प्रमुख तेल तथा ग्यास प्रशोधन क्षेत्रमा भएको मिसाइल आक्रमणबाट व्यापक क्षति पुगेको जनाइएको छ। कतार इनर्जीले घटनापछि आगो नियन्त्रणका लागि आपतकालीन टोली तुरुन्त परिचालन गरिएको जानकारी दिएको छ। यद्यपि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन।
कतारले इरानको गतिविधिलाई ‘क्रूर आक्रामकता’ भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, यस्तो कार्यले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्नुका साथै विश्व ऊर्जा सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको बताइएको छ।
कतारले साउदी अरब र संयुक्त अरब इमिरेट्सका ऊर्जा पूर्वाधारमा भएका आक्रमणहरूको समेत विरोध गर्दै क्षेत्रीय स्थिरतामा गम्भीर असर परेको उल्लेख गरेको छ।
परराष्ट्र मन्त्रालयले इरानका गतिविधिले क्षेत्रलाई द्वन्द्वतर्फ धकेलिरहेको आरोप लगाउँदै आवश्यक परे आफ्नो सुरक्षा र सार्वभौमसत्ता जोगाउन थप कदम चाल्ने चेतावनी दिएको छ।