ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

रास्वपाले मंगलबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटेलमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए ।

ADVERTISEMENT

‘नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,’ उनले भने ।

रास्वपा वरिष्ठ उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नुपर्नेमा जोड दिए । ‘वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ, जनताले गर्न सक्नेगरी जिम्मेवारी दिएका छन्, हामीले इमानदारीपूर्वक काम गरेर देखाउनुपर्छ’, उनले भने ।

ADVERTISEMENT

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरे ।

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिकालगायतका विषयबारे अभिमुखीकरण गराउन यस्तो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेन उपस्थित छैनन् । रवि अस्वस्थ रहेको बताइन्छ ।