काठमाडौँ। नेपाल प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्राको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

पक्राउ परेकाहरूबाट तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएको २७ लाख ३० हजार रुपैयाँ बराबरको चेक, विभिन्न बैंकका चार थान एटिएम कार्ड, एक थान नागरिकता र दुई थान चारपाङ्ग्रे तथा एक थान दुईपाङ्ग्रे सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ।

यसका साथै विभिन्न कम्पनीका छ थान मोबाइल, एनसेल र एनटिसीका ३१ थान सिमकार्ड तथा एक थान कम्प्युटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।