काठमाडौं — सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकका लागि न्यायको माग गर्दै बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।काठमाडौंस्थित माइतीघर मण्डला मा प्रदर्शन गर्दै सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘जात व्यवस्था मुर्दावाद’, ‘बलात्कारलाई कारबाही गर’ र ‘पितृसत्ता मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

   यस घटनाको थप अनुसन्धान भने अब सीआईबीले गर्ने भएको छ। सुर्खेत प्रहरीले बुधबार घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोनजंग बुढथापाका अनुसार प्रहरी निरीक्षकको कमान्डमा रहेको सीआईबीको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको छ।प्रहरीका अनुसार हालसम्म मृतक बालिकाका परिवारजनले शव बुझेका छैनन्।

ADVERTISEMENT

सुर्खेतको गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान विरेन्द्रनगर –४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो।

मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

ADVERTISEMENT

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको डीएसपी बुढथापाले जानकारी दिएका छन्। प्रहरीका अनुसार फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।