काठमाडौँ। एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेड (Holiday Inn Express & Suites Dhulabari) बीच सर्वसाधारणमा प्राथमिक शेयर (IPO) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता क्यापिटलको ‘IDEA to IPO’ सेवा अन्तर्गत गरिएको हो।
क्यापिटलले ‘IDEA to IPO’ सेवा मार्फत कम्पनी स्थापना चरणदेखि आईपीओ जारी गर्ने अवस्थासम्म आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ। सोही सेवा अन्तर्गत मेचीनगर–१०, झापामा निर्माणाधीन होटल ईष्टर्न नेपाललाई भविष्यमा सर्वसाधारणमा शेयर निष्कासन गर्ने उद्देश्यले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो।
प्रस्तावित पाँचतारे स्तरको उक्त होटलले इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप अन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड Holiday Inn Express & Suites सँग व्यवस्थापकीय सम्झौता गरिसकेको छ। यसअनुसार होटल सञ्चालन र व्यवस्थापनमा अन्तर्राष्ट्रिय अनुभव र मापदण्ड अपनाइने जनाइएको छ।
निर्माणको अन्तिम चरणमा रहेको होटलले २०८३ साल जेठभित्र ‘सफ्ट ओपनिङ’ गर्ने लक्ष्य लिएको छ। सञ्चालनमा आएपछि क्यासिनो, हाई–एन्ड गेमिङ तथा मनोरञ्जन, रुफटप स्वीमिङ पुल, लक्जरी सुइट्स, बैंक्वेट हल, बहुविध डाइनिङ आउटलेट, स्पा, हेल्थ क्लब लगायतका सेवा उपलब्ध गराइने बताइएको छ।
होटल भारतीय सीमाबाट करिब ७ किलोमिटर र बागडोगरा विमानस्थलबाट २७ किलोमिटर दूरीमा रहेकाले भारतीय पर्यटक लक्षित सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यस परियोजनाले पूर्वी नेपालसहित समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।
क्यापिटलले ‘IDEA to IPO’ सेवा लिन इच्छुक कम्पनीहरूलाई आवश्यक परामर्शका लागि सम्पर्क गर्न आह्वान समेत गरेको छ।








