काठमाडौं । एनआईसी एशिया क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत सञ्चालन हुँदै आएको ‘आइडिया टु आईपीओ’ सेवालाई थप परिमार्जन गरेर ‘वान–स्टप आईपीओ सहजीकरण सेवा’ सार्वजनिक गरेको छ। कम्पनीको सुरुआती आइडियादेखि कम्पनी स्थापना, विस्तार, पब्लिक कम्पनीमा रूपान्तरण हुँदै आईपीओ निष्कासनसम्मका सबै चरणमा आवश्यक लगानी व्यवस्थापन, कानुनी तयारी तथा संस्थागत परामर्श एकै स्थानबाट उपलब्ध गराउन लक्ष्य राख्दै यो सेवा सुरु गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार ‘आइडिया टु आईपीओ’ सेवा सञ्चालन भएको छोटो अवधिमै ३४ कम्पनीसँग सम्झौता भइसकेको छ। तीमध्ये २० वटा प्रालीलाई पब्लिक कम्पनीमा परिणत गरी आईपीओ प्रक्रियामा अघि बढाइएको छ भने ६ कम्पनीले सफलतापूर्वक आईपीओ निष्कासन गरिसकेका छन्। क्यापिटलले कम्पनी सञ्चालनका क्रममा प्रचलित कानून तथा नियामक निकायहरूले तोकेको मापदण्डको पूर्ण पालना अपरिहार्य हुने भएकाले संस्थागत सुशासन, कानुनी व्यवस्था र वित्तीय पारदर्शितामा उच्च तयारी आवश्यक रहेको बताएको छ।

ADVERTISEMENT

दक्ष तथा अनुभवी जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण र खर्चिलो हुने अवस्थालाई मध्यनजर गर्दै भविष्यमा सर्वसाधारणमा शेयर जारी गर्ने तयारीमा रहेका तथा संचालनमा रहेका कम्पनीहरूलाई लक्षित गर्दै क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवालाई विस्तार गरी न्यून शुल्कमा ‘वान–स्टप आईपीओ सहजीकरण सेवा’ उपलब्ध गराएको हो। यस अन्तर्गत कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र–नियमावली, वित्तीय अवस्था, कानुनी प्रावधान, लगानीकर्ताको मनोविज्ञान तथा नियामक सर्तहरूको विस्तृत अध्ययन गरिने र आवश्यक सम्पूर्ण चेकलिस्टका आधारमा कम्पनीको अवस्थाबारे प्रतिवेदन तयार गरिनेछ। पहिचान भएका कमजोरी सुधारका लागि क्यापिटलले परामर्श प्रदान गर्नेछ।

ADVERTISEMENT

कम्पनीको वित्तीय अवस्थाको गहिरो विश्लेषण गर्दै धितोपत्र बोर्डले तोकेको मापदण्ड तथा अन्तर्राष्ट्रिय मूल्याङ्कन मोडेल प्रयोग गरी आईपीओको मूल्य निर्धारण गरिने र कम्पनीको उपयुक्तताअनुसार पार–मूल्य, प्रिमियम वा बुक–बिल्डिङ विधिमध्ये कुन विधिबाट सेयर जारी गर्ने भन्नेबारे सुझाव प्रदान गरिने क्यापिटलले जनाएको छ। मूल्याङ्कनले कम्पनी आईपीओ योग्यता पुगेको देखिएमा प्रक्रिया तुरुन्त अघि बढाइनेछ भने तत्क्षण निष्कासन सम्भव नभएका कम्पनीलाई आवश्यक मार्गदर्शन, परामर्श र समयरेखा प्रदान गरिनेछ।

एनआईसी एशिया क्यापिटलले नयाँ ‘वान–स्टप आईपीओ सहजीकरण सेवा’ ले कम्पनीहरूलाई कानुनी, व्यवस्थापकीय, वित्तीय र प्राविधिक पक्षमा सुदृढ बनाउँदै आईपीओ प्रक्रिया अझ सहज, व्यवस्थित र पारदर्शी बन्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

ADVERTISEMENT