काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनको घरमा चोरी गर्ने तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीनजनालाई पक्राउ गरेको हो ।

काठमाडौं एसपी पवनकुमार भट्टराई बालेनको घरमा चोरी गर्ने तीनजना पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको प्रहरीले जनाएको छ ।

चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको उल्लेख गरेको छ ।

उनीहरूले केही दिनअघि महाराजगन्जको चप्पल कारखानस्थित बालेनको कोठामा चोरी गरेका थिए । चोरी गर्ने समूहका तीनैजना यसअघिसमेत विभिन्न कसुरमा पक्राउ परेका आरोपी हुन् ।

केही दिनअघि बालेनको मण्डिखाटारस्थित घरको मुख्य गेट फोडेर चोरी भएको थियो । तर त्यसबेला प्रहरीले गेटमात्र फुटाएको दाबी गरेको थियो ।