काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको निमन्त्रणा पाएका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार बिहान आइपुगेका भारतीय विदेश सचिव विक्रम मिस्रीले औपचारिक निमन्त्रणा दिएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मिस्री र प्रधानमन्त्री ओलीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । प्रधानमन्त्री भेटको समय पारेर ११ बजेर २० मिनेटमा बालुवाटारबाट निस्किएका थिए । यसअघि उक्त भेटघाट बालुवाटारमा हुने बताइएको थियो ।

ADVERTISEMENT

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको भ्रमणका लागि भारतले औपचारिक भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि पठाएको औपचारिक निम्तो मिश्रीले दिएको र भ्रमणको तालिका, स्थान र एजेण्डासहितका विषय दुई देशको परराष्ट्र तहबाट टुंगाएर सार्वजनिक हुने उनको भनाइ छ ।

ADVERTISEMENT

यसअघि प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म दुई दिने भारत भ्रमण गर्ने भनिएको थियो । तर भारतले प्रधानमन्त्री मोदीको व्यस्त कार्यतालिकाले पछि सार्न भनेको छ ।
विदेश सचिव मिश्रीसँगै नेपालका लागि राजदूत नवीन श्रीवास्तवसँगै भारतीय विदेश मन्त्रालयको उत्तर मामिला प्रमुख तथा सहसचिव मुनु महावार, अतिरिक्ति सचिव तुषारअन्शु शर्मा र निर्देशक तथा सचिवका पिए प्रियंन्का सोहनी प्रधानमन्त्री ओलीसँगको भेटघाटमा संलग्न थिए ।

मिश्र नेतृत्वको टोलीले आजै क्रमशः राष्ट्र्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटघाट गर्दैछ ।

ADVERTISEMENT