आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ–चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन्। कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँमा चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गरेका हुन्।

उम्मेदवार राईका साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी–तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राईलगायतका नेताहरू सहभागी छन्। कांग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमान्डर (नेता) तोकेर अभियान सुरु गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवविक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गरेका छन्। एमाले खोटाङका अध्यक्षसमेत रहनुभएका राईले काठमाडौँ, इटहरी र गाईघाटको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गरेका हुन्।

ADVERTISEMENT

उम्मेदवार राईका साथमा एमाले केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराई, पूर्वजिल्ला अध्यक्षहरू बबि चाम्लिङ र रामप्रसाद दङ्गाललगायतका नेताहरू सहभागी छन्। औपचारिक कार्यक्रमका लागि मिति तय नगरी पहिलो चरणमा घरदैलो अभियान सुरु गरिएको उम्मेदवार राईले बताए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले माघ ७ गते दिक्तेल बजारबाट घरदैलो अभियान सुरु गरेका थिए। अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. रोकाको घरदैलो अभियानमा रोकासँगै छ जना पूर्वसांसद तथा केन्द्रीय नेताहरू सहभागी छन्।

ADVERTISEMENT

दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका रोकालाई जनताको बीचमा लगेर विजयी बनाउने उद्देश्यले पूर्वसांसदहरू टङ्क राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकास मन्त्री राजन राईले साथ दिएका छन्।
रोकाको चुनावी कमान्डर नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई खटिएका छन्।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा यस वर्ष पुरानै तीन राजनीतिक दल (कांग्रेस, एमाले र नेकपा) का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर मतदाता रिझाउन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ। जिल्लाका साना–ठूला सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आफ्नो पक्षमा जित निकाल्न र मतदाता रिझाउन दिनरात खटिएका छन्।

विसं २०७९ को निर्वाचनमा खोटाङमा एमाले बलियो देखिएको थियो। श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गर्नुका साथै मत काट्ने काम गरेको देखिएको छ।

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। त्यसमध्ये २१ वटा अति संवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए।