वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आवको सोही अवधिसँग तुलना गर्दा आयात संख्या ३३२ ले बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, यसै अवधिमा विद्युतीय सवारीसाधनको आयातबाट रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ। गत आवको पहिलो छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका १२४ विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो र त्यसबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो।

ADVERTISEMENT

त्यसैगरी, चालु आवको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै रू ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनको आयातबाट रू २ अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिमा रू एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धन सवारीसाधन आयात भएका थिए र त्यसबाट रू ३ अर्ब ९ करोड राजस्व सङ्कलन भएको थियो।

भन्सारका अधिकारीका अनुसार विद्युतीय सवारीसाधनको आयातमा वृद्धिसँगै वातावरण मैत्री र इन्धन खर्च बचत गर्ने प्रवृत्ति पनि बढ्दो छ।

ADVERTISEMENT