काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आगामी पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने व्यावहारिक कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा घोषणापत्र निर्माणका लागि विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग गरिएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले जनताको व्यावहारिक आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर घोषणापत्र तयार भइरहेको जानकारी दिए। उनका अनुसार घोषणापत्रले मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख–समृद्धिको चाहना पूरा गर्ने लक्ष्य लिएको छ।

अध्यक्ष ओलीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले एमाले सुदृढ संगठन, व्यापक जनसमर्थन र लोकप्रिय पार्टीका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुगेको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा तथा सुदृढ राष्ट्रिय एकता कायम गर्न एमालेले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने दाबी गरे।

ADVERTISEMENT

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट सम्भव नहुने बताउँदै अध्यक्ष ओलीले आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षाको माध्यमबाट यसको रक्षा गरिने स्पष्ट पारे।

ADVERTISEMENT

कार्यक्रममा सहभागी विज्ञहरूले पार्टीको घोषणापत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने, कार्यान्वयनयोग्य र परिणाममुखी हुनुपर्ने सुझाव दिएका थिए। एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरिसकेको छ।समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।