जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ । मधेस प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको संख्या १९ लाख पाँच हजार ८१९ र महिलाको संख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।

गृह मन्त्रालयले मधेशका सप्तरी र सर्लाही जिल्लालाई सुरक्षा जोखिमको जिल्लाका रूपमा वर्गीकरण गरेको छ । यी जिल्लामा हेबिवेट नेताहरु चुनावी मैदानमा छन् ।