काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

हावाहुरीका कारण हुनसक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । विपद् व्यवस्थापनविद् धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिए ।

हावाहुरी र असिना पानी परेको समयमा सवारीसाधन नचालाउन, रुख तथा बिजुलीको खम्बा नजिक नबस्न तथा अनावश्यक बाहिर ननिस्कन उनको सुझाव छ ।

विभागका अनुसार आज अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान तथा वाग्मती, मधेसलगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले अपराह्नपछि विषेशगरी तराईका क्षेत्रमा हुरी चल्ने र सो क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विषेश सतर्कता अपनाउन अनुरोध गरिन् । ‘अहिले पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन÷चट्याङसहित हल्का पानी परिरहेको छ । यो प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु जरुरी छ,’ उनले भनिन्, ‘मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरी (करिब ५०–६० किमी÷घण्टा) चल्ने सम्भावना छ । यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आवश्यक छ ।’
प्रवक्ता पोखरेलले काठमाडौँ उपत्यकामा हुरीको प्रभाव भने कम रहने बताइन् । विशेष गरी तराईमा यसको प्रभाव बढी परे पनि आत्तिनुपर्ने अवस्था नभएको तर सर्तकता अपनाउन आवश्यक भएको उनको भनाइ छ । पोखरेलले हुरी चलिरहेको समयमा घरबाहिर ननिस्कन सुझाव दिनइन् ।
छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर÷संरचना भएभित्र गइहाल्नुपर्छ ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र बिजुलीका तारमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत उनको अनुरोध छ ।

जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले तीन दिन देशभर बदली, वर्षा र हिमपातको प्रभाव, केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात तथा चट्याङ्गको प्रभाव रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा मेघगर्जन, असिना र हुरीसहित वर्षा हुने सम्भावना छ ।