काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवर्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ ।
हान अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । ‘नेपाल आउने करिब ९० प्रतिशत विदेशी पर्यटकले नेपाली खाना खोज्ने गरेका छन् र त्यसका लागि हामीले हाम्रो परम्परागत खानालाई प्रवर्धन गर्नुपर्छ,’ उनले भने ।
शाहले गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपाली संघसंस्थासँग सहकार्य गरी नेपाली खानाको प्रचार गर्ने तथा स्वदेशमा सातै प्रदेशमा खाना महोत्सवको तयारी भइरहेको जानकारी दिए । पर्यटन क्षेत्रका जानकार अभिषेकविक्रम शाहले नेपालीपन नहराउने गरी परिकारलाई विश्वस्तरमा पु¥याउन सेफहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले सेतो लुगामा कालोदाग लाग्न दिन नहुनेतर्फ सबै सेफ सचेत रहनुपर्नेमा जोड दिए । उनले नयाँ पुस्तालाई काममा विश्वास राख्न, पेसाको सम्मान गर्न, अनुशासनमा बस्न र सिकाइलाई कहिल्यै नछाड्न सुझाव दिए । ‘भान्सा केबल पकाउने स्थान मात्र होइन, यो देशको संस्कृति, पहिचान र परिकारलाई विश्वसामु चिनाउने मञ्च हो’, सेफ केसीले भने ।
वरिष्ठ सेफहरु श्याम लामा, रत्नबहादुर थापा, जित लामा पाख्रिन, रेशम कुमार तामाङ, प्रशिक्षक सूर्यकिरण श्रेष्ठले होटलका भान्सामा रहने सेफ कहिल्यै अवकाश नहुने भन्दै उनीहरुका निम्ति अवसर नै अवसर रहेका बताए ।







