काठमाडौँ । होटल सङ्घ नेपाल (हान) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
हानको प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गरी पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो । सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले सकारात्मक प्रतिक्रिया दिएको हानले विज्ञप्तिमार्फत जनाएको छ ।
हानका अध्यक्ष विनायक शाहले पूर्वाधारको उचित व्यवस्थापन हुन नसकेका कारण होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको बताएका थिए । उनले होटलको अकुपेन्सी अत्यन्तै कम हुँदा नियमित किस्ता बुझाउन समेत कठिनाइ भएको उल्लेख गरे । शाहले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योगसरह कर्जाको साँवा ब्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरे । उनले होटललाई डलर भुक्तानीका लागि सहजीकरण गर्न पनि अनुरोध गरे ।
अध्यक्ष शाहले होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउन आवश्यक भएको बताए । पर्यटकहरुले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधानअनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर तीन सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकाले समस्या समाधान गर्न पनि आग्रह गरे ।
सुझाव पत्रमा सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएकाले विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा पाउनुपर्ने माग गरिएको छ । साथै कर्जाको हकमा आधारदरमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याज कायम गर्नुपर्ने समेत उल्लेख छ ।








