काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा समावेश गर्ने विषयमा विरोध गर्ने मुलुकहरूमाथि नयाँ कर (ट्यारिफ) लगाउने चेतावनी दिएपछि विश्व बजारमा अनिश्चितता बढेको छ। यसैको असरस्वरूप एशिया–प्रशान्त क्षेत्रका सेयर बजार ओरालो लाग्दा लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका छन्, जसका कारण सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ।
बुधबार स्पट सुनको मूल्य एक प्रतिशतभन्दा बढीले बढ्दै प्रतिआउन्स ४,८१३ अमेरिकी डलरको ऐतिहासिक उच्च विन्दुमा पुगेको हो। नेपाली बजारमा त्यसकै प्रभाव स्वरुप बुधबार सुनको मूल्य रु २९५१००पुग्यो। यसअघि मंगलबार पनि सुनले पहिलो पटक ४,७०० डलरको सीमा पार गरेको थियो। उक्त दिन नेपालमा सुनको मूल्य रु २लाख ८४हजार ७सय पुगेको थियो। भू–राजनीतिक तनाव बढेसँगै सुरक्षित लगानीको माग बढ्दा सुनको मूल्यमा तीव्र उछाल आएको हो। यही क्रममा चाँदीको मूल्य पनि पहिलो पटक ९५ डलर माथि पुगेको थियो।
मंगलबार स्पट सुन करिब २ प्रतिशतले बढेर प्रतिआउन्स ४,७५७.३३ डलरमा पुगेको थियो भने कारोबारका क्रममा ४,७६५.९३ डलरसम्म उक्लिएको थियो। फेब्रुअरी डेलिभरीका लागि अमेरिकी सुन फ्युचर्स ३.७ प्रतिशतले बढेर ४,७६५.८० डलरमा बन्द भएको छ।
बजार विश्लेषकहरु बढ्दो राजनीतिक जोखिमबाट जोगिन लगानीकर्ताले सुनलाई सुरक्षित माध्यमका रूपमा रोजेका छन्। अमेरिकी डलर कमजोर बन्दा सुनजस्ता बहुमूल्य धातुलाई थप बल पुगेको बताउछन् ।
यसैबीच, ग्रिनल्यान्डको नियन्त्रणलाई लिएर युरोपविरुद्ध ट्रम्पले पुनः ट्यारिफको चेतावनी दिएपछि वाल स्ट्रिटका प्रमुख सूचकहरू करिब तीन साताकै न्यून विन्दुमा झरेका छन्। यी अभिव्यक्तिले स्विट्जरल्यान्डको डाभोसमा हुने विश्वव्यापी व्यवसायिक नेताहरूसँगको ट्रम्पको भेटअघि नै अन्तर्राष्ट्रिय तनाव चर्काएको विश्लेषण गरिएको छ।
अमेरिकी डलर एक महिनापछि सबैभन्दा ठूलो दैनिक गिरावटतर्फ उन्मुख हुँदा सुनको मूल्य अझै उकालो लागेको हो। आर्थिक तथा राजनीतिक अस्थिरताका बेला सुरक्षित सम्पत्तिका रूपमा हेरिने सुन सन् २०२५ मा मात्रै ६४ प्रतिशतले बढेको थियो भने सन् २०२६ सुरु भएयता थप १० प्रतिशतले उकालो लागेको छ।
अमेरिकामा ब्याजदर कटौतीको अपेक्षाले पनि सुनको मूल्यलाई टेवा दिएको छ। ब्याजदर घट्दा नगदले प्रतिफल नदिने हुँदा मूल्य सुरक्षाको लागि सुन राख्ने लागत कम हुने भएकाले लगानीकर्ता आकर्षित भएका हुन्। बजारले सन् २०२६ को मध्यदेखि दुई पटक २५ आधार बिन्दुको ब्याजदर कटौतीको सम्भावना आँकलन गरिरहेको छ। यसबीच अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले आगामी साता नै नयाँ फेडरल रिजर्भ प्रमुख नियुक्त हुन सक्ने संकेत दिएका छन्।
विश्लेषकहरुका अनुसार सुनले ४,८०० र ४,९०० डलरको मूल्य बिन्धु बनाउदै दीर्घकालमा ५,००० डलर पार गर्ने देखिएको बताउछन।
यता, स्पट चाँदीको मूल्य ०.३ प्रतिशतले घटेर प्रतिआउन्स ९४.३८ डलरमा झरेको छ, यद्यपि यसअघि कारोबारका क्रममा ९५.८७ डलरको कीर्तिमान कायम भएको थियो। चाँदीको मूल्य सन् २०२५ मा १४७ प्रतिशतले बढेको थियो भने सन् २०२६ सुरु भएयता ३२ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।







