काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतले बीमा र बैंकिङ उद्योग एक–अर्काका पूरक भएको उल्लेख गर्दै बीमा प्रडक्टहरुबिना बैंकिङ क्षेत्र दीर्घकालीन रूपमा फस्टाउन नसक्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक बीमा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सीईओले भने, “यदि बीमा उद्योग र बीमा उत्पादनहरू नहुने हो भने बैंकिङ उद्योग अस्तित्वमा त रहन्थ्यो होला, तर आजको जस्तो रूपमा फस्टाउन सक्दैनथ्यो।” उनका अनुसार बैंकिङ प्रणालीको पहुँच, शाखा सञ्जाल र ग्राहक आधार बीमा क्षेत्र विस्तारका लागि ठूलो अवसर हो।

ADVERTISEMENT

नेपालमा हाल करिब ६ करोड बैंक खाता र २० लाखभन्दा बढी ऋणी ग्राहक रहेको उल्लेख गर्दै उनले बीमा पहुँच अझै ५० प्रतिशतभन्दा तल सीमित रहनु चुनौतीपूर्ण विषय भएको बताए। “परम्परागत बीमा प्रडक्टहरु त चलिरहेका छन्, तर सबैलाई समेट्ने गरी कभरेज विस्तार गर्न हामी चुकेका छौँ,” उनले भने।

ADVERTISEMENT

बैंक–बीमा (बैंकास्योरेन्स) मोडललाई सक्षम बनाइए बीमा पहुँच उल्लेख्य रूपमा बढाउन सकिने उनको धारणा छ। उदाहरण दिँदै उनले भने, “होम लोन दिँदा धितोमा रहेको सम्पत्तिको बीमा अनिवार्य हुन्छ। तर ऋणीसँग भएका अन्य सम्पत्तिहरू प्रायः बीमाबिहीन रहन्छन्। समन्वयको मोडल विकास गर्न सकियो भने ती सम्पत्तिहरू पनि बीमाको दायरामा ल्याउन सकिन्छ।”

त्यस्तै, विदेशी मुद्रा साट्दा ट्राभल इन्सोरेन्स जस्ता उत्पादन बिक्री गर्न अनुमति दिइए बीमा उद्योगको लागत व्यवस्थापन र पहुँच विस्तार दुवैमा सहयोग पुग्ने उनले बताए।

सीईओले पछिल्लो समय बैंकिङ क्षेत्रमा शाखा संकुचनको अवस्था आएको उल्लेख गर्दै महानगरपालिकाभित्र धेरै शाखामा कारोबार उल्लेख्य रूपमा घटेको बताए। एनआईसी एशियाका मात्रै छ महानगरपालिकामा ७९ शाखा रहेको र ती शाखामा कारोबार कोभिडअघिको तुलनामा २५ देखि ३३ प्रतिशतमा झरेको उनले जानकारी दिए।

“जब बैंकिङ उद्योग कन्सोलिडेसनतर्फ जाँदैछ, त्यहाँबाट मुक्त हुने जनशक्ति र स्रोतलाई तालिम तथा अपस्किल गरेर बैंकास्योरेन्समा प्रयोग गर्न सकिन्छ,” उनले भने। यसले बीमा कम्पनीहरूको नेटवर्क खर्च पनि व्यवस्थापन गर्न सहयोग पुग्ने र फोर्स सेलिङ्गको समस्यालाई पनि हल गर्न सकिने उनको भनाइ छ।

अन्त्यमा उनले बैंकिङ र बीमा उद्योगबीच संस्थागत तथा नियामकीय समन्वय आवश्यक रहेको जोड दिँदै दुवै नियामक निकायको सहकार्यमा अघि बढे दुवै क्षेत्रको दिगो विकास सम्भव हुने विश्वास व्यक्त गरे।