काठमाडौँ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित प्लेटफर्म च्याट-जिपिटीले आफ्नो सेवा अझ धेरै मानिससम्म पुर्‍याउने उद्देश्यसहित विज्ञापन परीक्षण सुरु गर्ने तयारी गरेको छ। ओपन-एआईले जारी गरेको विज्ञप्तिअनुसार, आगामी केही हप्ताभित्र अमेरिकामा च्याट-जिपिटीको निःशुल्क र गो(Go) संस्करणमा विज्ञापन परीक्षण सुरु गरिनेछ।

ओपन-एआईका अनुसार एआई अब यस्तो चरणमा पुगेको छ जहाँ प्रत्येक व्यक्तिले व्यक्तिगत ‘सहायक’ पाउन सक्छ। तर, यो स्तरको प्रविधिमा कसले पहुँच पाउँछ भन्ने कुराले अवसर विस्तार हुन्छ कि विभाजन गहिरिन्छ भन्ने निर्धारण गर्ने भएकाले, च्याट-जिपिटीलाई सबैका लागि पहुँचयोग्य बनाउने प्रयास भइरहेको जनाएको छ।

यसै सन्दर्भमा, च्याट-जिपिटी-गो सेवा अब अमेरिका सहित विश्वभर उपलब्ध गराइएको छ। मासिक ८ अमेरिकी डलरमा उपलब्ध यो सेवाले बढी सन्देश प्रयोग, तस्बिर सिर्जना, फाइल अपलोड र मेमोरी सुविधा प्रदान गर्नेछ। साथै, विज्ञापन समावेश गरिए पनि प्रो, बिजनेस र इन्टरप्राईज सदस्यतामा भने कुनै विज्ञापन नदेखाइने स्पष्ट गरिएको छ।ओपन-एआईले विज्ञापन सुरु गर्दा च्याट-जिपिटीको मूल मूल्य विश्वसनीयता, उपयोगिता र गोपनीयता—मा कुनै सम्झौता नहुने जनाएको छ। विज्ञप्तिमा भनिएको छ कि विज्ञापनले च्याट-जिपिटीका उत्तरहरूमा कुनै प्रभाव पार्ने छैनन् र प्रयोगकर्ताका संवाद तथा डाटा विज्ञापनदातालाई कहिल्यै बेचिने छैन।

ADVERTISEMENT

विज्ञापनसम्बन्धी आफ्नो नीतिअन्तर्गत ओपन-एआईले केही मुख्य सिद्धान्त सार्वजनिक गरेको छ। तीमध्ये विज्ञापन र उत्तर स्पष्ट छुट्याइने, प्रयोगकर्तालाई विज्ञापन व्यक्तिगत बनाउने वा बन्द गर्ने पूर्ण नियन्त्रण दिइने, दीर्घकालीन प्रयोगकर्ता अनुभवलाई आम्दानीभन्दा माथि राखिने र संवेदनशील विषय (जस्तै स्वास्थ्य, मानसिक स्वास्थ्य, राजनीति) का विज्ञापन नदेखाइने उल्लेख छ।

ADVERTISEMENT

प्रारम्भिक चरणमा च्याट-जिपिटीले प्रयोगकर्ताको संवादसँग सान्दर्भिक प्रायोजित सामग्री उत्तरको तलतिर देखाउने परीक्षण गर्नेछ। ती विज्ञापनहरुमा स्पष्ट रूपमा स्पोंसर्ड ‘Sponsored’ भभन्ने संकेत हुनेछन् र प्रयोगकर्ताले किन त्यो विज्ञापन देखाइएको हो भन्ने जानकारी लिन वा अस्वीकार गर्न सक्नेछन्। १८ वर्षमुनिका प्रयोगकर्तालाई विज्ञापन नदेखाइने पनि ओपन-एआईले जनाएको छ।

ADVERTISEMENT

च्याट-जिपिटीमा यस्तो देखिन्छ विज्ञापन

ओपन-एआईका अनुसार, एआई आधारित संवादात्मक विज्ञापनले साना व्यवसाय र नयाँ ब्रान्डलाई पनि ठूलो अवसर दिनेछ। भविष्यमा प्रयोगकर्ताले विज्ञापन देखेपछि सोही च्याटमार्फतै थप प्रश्न सोधेर खरिद निर्णय गर्न सक्ने सम्भावनासमेत विकास गरिने संकेत गरिएको छ।
ओपन-एआईले प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा विज्ञापन प्रणालीलाई क्रमशः परिमार्जन गर्दै लैजाने र विश्वासमैत्री वातावरण कायम राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ। विज्ञापनलाई सहायक आम्दानी स्रोतका रूपमा प्रयोग गर्दै एआईलाई अझ व्यापक रूपमा पहुँचयोग्य बनाउने दीर्घकालीन लक्ष्य रहेको पनि कम्पनीले स्पष्ट पारेको छ।