काठमाडौं । चुनावको मिति नजिकिँदै जाँदा सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

उज्यालो नेपाल पार्टीबाट चुनाव लड्न यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिइसकेका छन् । उनी काठमाडौं ३ बाट उठ्ने तयारीमा छन् ।

ADVERTISEMENT

खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार राति प्रधानमन्त्री कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताए। ‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ उनले भने। उनी सिराहा १ बाट चुनाव लड्ने तयारीमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको चुनावी अभियानमा उनी सहभागी भएका छन्। उनलाई रास्वपाले अहिलेसम्म टिकट दिइसकेको छैन ।

ADVERTISEMENT

यस्तै, सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिने भएका छन् । उनले मंगलबार राजीनामा दिने तयारी गरेका छन् । उनी पनि रास्वपाबाटै राजनीतिमा होमिने भएका छन् । उनलाई रास्वपाले ललितपुर ३ बाट उम्मेदवार बनाउने भएको छ । खरेलले सोमबार बिहानसम्म राजीनामा दिएका छैनन् । उनले भोलि उम्मेदवारी दर्ताकै बेला राजीनामाको घोषणा गर्ने भएका छन् ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले प्रधानमन्त्री कार्कीले क्याबिनेट विस्तार गर्न भने नमिल्ने भएको छ ।

ADVERTISEMENT