काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई नेपालको परिवर्तित राजनीतिबारे ‘ब्रिफिङ’ गर्ने भएको छ ।

अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्रीको हैसियतमा शुक्रबार ‘ब्रिफिङ’ गर्न लागेकी हुन् । बिहीबार सरकार गठनको एक महिना पूरा भएको छ ।

ADVERTISEMENT

नेपालमा रहेका युरोपियन युनियन तथा २६ मुलुकका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबार बोलाएको छ । परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक ‘ब्रिफिङ’को तयारी भइरहेको बताए ।

कूटनीतिक ‘ब्रिफिङ’ अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा पठाएका राजदूतहरू फिर्ता बोलाउने तयारी भएको छ। प्रधानमन्त्री कार्कीले आफ्नो टिमसँग छलफल गरी यो प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो ।

ADVERTISEMENT

प्रधानमन्त्री कार्यालयका अनुसार सरकारले भारतसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरू फिर्ता बोलाउने तयारी गरेको छ। चीन, अमेरिका, इजरायल, जापानलगायत देशका राजदूतहरू यस सूचीमा पर्नेछन्।

हाल १७ देशमा राजनीतिक नियुक्तिका आधारमा राजदूत रहेका छन्। अघिल्लो केपी ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाइने भएको हो ।

सरकारले यस विषयमा प्रस्ताव तयार गरी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने गृहकार्य पूरा गरिसकेको छ। सम्भवतः आज बस्ने बैठकमा यो एजेन्डाले प्रवेश पाउने छ । फिर्ता बोलाइने राजदूतहरूलाई यसबारे आधिकारिक सूचना पठाइसकिएको बताइएको छ ।