युरोपेली नेताहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै ग्रिनल्याण्डप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः देखाएको चासोप्रति असहमति जनाएका छन् । उनीहरूले आर्कटिक क्षेत्रको सुरक्षा कुनै एक देशको पहलबाट नभई सामूहिक प्रयासबाट मात्रै सुनिश्चित हुनुपर्ने बताएका छन् ।
डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको पत्रमा डेनमार्क राज्य ग्रिनल्याण्डसहित नेटोको सदस्य रहेको उल्लेख गरिएको छ । वक्तव्यमा आर्कटिक क्षेत्रको सुरक्षाका विषयमा अमेरिकासमेतका नेटो साझेदारहरू देशहरु सँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमाको अविच्छिन्नताको सम्मान अनिवार्य हुने स्पष्ट पारेका छन् । यी सिद्धान्तहरू विश्वव्यापी भएको र तिनको रक्षा गर्न आफूहरू पछि नहट्ने उनीहरूको भनाइ छ । 
वक्तव्यमा ग्रिनल्याण्डको निर्णयाधिकार ग्रिनल्याण्डवासी र डेनमार्कमै सीमित रहने स्पष्ट गरिएको छ । “ग्रिनल्याण्ड त्यहाँका जनताको हो, र ग्रिनल्याण्ड तथा डेनमार्कसँग सम्बन्धित विषयमा निर्णय गर्ने अधिकार उनीहरूकै हुन्छ,” पत्रमा उल्लेख छ ।
संयुक्त वक्तव्यमा डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, बेलायतका प्रधानमन्त्री केयर स्टार्मर, साथै इटाली, स्पेन र पोल्याण्डका नेताहरूले हस्ताक्षर गरेका छन् ।






