बेरुत । बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिकको संख्या कटौती गरिने भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार आठ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् । सन् २०२६ मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन् ।
लेबनानका लागि संयुक्त राष्ट्रसंघी अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसंघीव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताए ।
उनका अनुसार सन् २०२५ को अगस्टमा पारित सुरक्षा परिषद्को प्रस्ताव २७९० ले मिसनको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ सम्म विस्तार गरेको छ र त्यसपछि क्रमिक रूपमा सैनिक फिर्ताको व्यवस्था गरेको छ ।
हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १० हजार ५ सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । पछिल्लो एक वर्षमा लेबनानी सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा रहेका अवैध हतियार भण्डारण केन्द्र तथा सम्बन्धित संरचना गरी तीन सय ७० वटा नष्ट गरेको जनाइएको छ । यस कार्यमा संयुक्त राष्ट्रसंघीय मिसनले सहयोग पुर्याएको छ ।
आर्डेलका अनुसार सुरक्षा परिषद्को प्रस्ताव १७०१ कार्यान्वयनमा मुख्य चुनौती लेबनानभित्र जारी इजरायली सैन्य गतिविधि रहेको छ । यद्यपि नोभेम्बर सन् २०२४ मा लेबनान र इजरायलबीच उक्त प्रस्ताव कार्यान्वयनप्रति सहमति भएको भए पनि इजरायली स्थल तथा हवाई कारबाहीले स्थायित्वमा बाधा पुर्याइरहेको उनले बताए ।
दक्षिणी लेबनानमा दीर्घकालीन स्थायित्व कायम गर्न लेबनानी सेनाको सुदृढीकरण अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले थप सहयोग र तालिम आवश्यक रहेको धारणा राखे । लेबनानमा शान्ति सैनिकको संख्या कटौती गरेसँगै नेपाली सेनालाई पनि असर पर्ने भएको छ । अहिले जुन अनुपातमा नेपाली सेना त्यहाँ गएका छन्, अब त्यसमा कमी आउने छ ।






