काठमाडौं । अमेरिका, इजरायल र इरानबीच भएको युद्धविराम २४ घण्टा नबित्दै मध्यपूर्वमा पुनः तनाव चर्किएको छ । इजरायलले लेबनानमाथि भीषण हमला गरेसँगै युद्धविराम टुट्ने अवस्थामा पुगेको हो ।
इजरायलको आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउँदै जवाफ दिने चेतावनी दिएको थियो । उक्त चेतावनी दिएको केही घण्टामै साउदी अरबको महत्त्वपूर्ण ईस्ट–वेस्ट आयल पाइपलाइनमाथि ड्रोन र मिसाइल आक्रमण भएको छ । यो पाइपलाइन होर्मुज स्ट्रेटलाई बाइपास गर्न निर्माण गरिएको रणनीतिक संरचना हो ।
साउदी अरबका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने उक्त पाइपलाइनमार्फत पूर्वी क्षेत्रबाट दैनिक करिब ७० लाख ब्यारेल तेल यनबु बन्दरगाहसम्म ढुवानी गरिँदै आएको छ । आक्रमणका कारण उक्त पाइपलाइनसँगै अन्य तेल पूर्वाधारहरू पनि प्रभावित भएका छन् ।
यता, लेबनानमा इजरायलले गरेको हमलामा हालसम्म २५४ जनाको मृत्यु भएको छ भने ८ सयभन्दा बढी घाइते भएका छन् । इजरायलले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य कारबाही भएको दाबी गरेको छ ।
इरानले लेबनानमाथि यस्ता हमला जारी रहेमा युद्धविराम पूर्ण रूपमा भंग हुने र आफू प्रत्यक्ष आक्रमणमा उत्रिने चेतावनी दिएको छ । यसले समग्र मध्यपूर्व क्षेत्रमा थप द्वन्द्व र अस्थिरता बढ्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।







