काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा पूर्व गृहमन्त्री रमेश लेखकमाथि लगाइएको विदेश भ्रमण रोक तथा स्थान हद फुकुवा गरिएको छ।

उक्त घटनाको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले यसअघि लेखकलाई विदेश जान रोक लगाउनुका साथै आयोगको अनुमति बिना काठमाडौँ उपत्यका बाहिर जान नपाउने व्यवस्था गरेको थियो। तर, सो निर्णय अनुसार आवश्यक कार्य सम्पन्न भइसकेपछि आयोगले ती सबै प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

गृह मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व माननीय गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय २०८२/६/१२ मा गरिएको थियो। सो निर्णय उपरको कार्य सम्पन्न भइसकेकाले २०८२/०९/१७ मा आयोगले उक्त व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार छानबिन प्रक्रिया अगाडि बढिसकेको र आवश्यक बयान तथा प्रक्रिया पूरा भइसकेकाले प्रतिबन्ध हटाइएको हो।