काठमाडौं। “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुवा भीमबहादुर भन्छन्, “अब हामीले पाउने सान्त्वना के होला?”
गोरखा पालुङ्टार नगरपालिका-३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच राख्ने व्यक्ति थिए। भीमबहादुर छोरालाई सम्झँदै भन्छन्, “म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको योजना थियो।”
व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु भएपछि सबैलाई छुने अनिश देशको अवस्थाबारे छिमेकी र साथीहरूसँग गम्भीर कुरा गर्थे। “यसरी बिग्रिँदै गयो भने देश भिखारी हुन्छ, जनता अप्ठ्यारोमा पर्छन्” भन्ने उनको चिन्ता परिवारले बारम्बार सुनेको थियो।

जेनजीले शान्तिपूर्ण प्रदर्शनका नाममा गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो। उनी जेनजी आन्दोलनका औपचारिक सदस्य थिएनन् तर अघिल्लो दिनको घटनाले चुप बस्न सकेनन्। भ्रष्टाचारविरुद्ध आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चाहरू मारिएको देखेर उनी झन् आक्रोशित भए।
भदौ २४ गते बिहान बाबुछोरासँगै थिए। करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किए। ५–७ वटा मोटरसाइकलमा साथीहरूसँग गोङ्बुतर्फ लागे। “अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ,” भीमबहादुर भन्छन्, “तर मैले त्यो लाइभ हेरेको थिइनँ।”
दिउँसो करिब २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो। “छोरा घाइते भएको सुनेपछि बुहारीलाई नजानू, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगञ्ज पुगेँ,” उनी सम्झन्छन्, “त्यहाँ पुग्दा थाहा भयो—उनी घटनास्थलमै बितिसकेका रहेछन्।”
यो दृश्य सम्झँदा उनी अझै सम्हालिन सक्दैनन्। “हामीले छोरा गुमायौं, दुई नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो,” गला अवरुद्ध हुँदै भीमबहादुर भन्छन्, “हाम्रो परिवारको मियो नै उखेलियो।”
अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ। तर सहिद घोषणाले मात्र पीडा कम नभएको भीमबहादुरको भनाइ छ। “देशका लागि छोराले बलिदान दिए,” उनी भन्छन्, “तर हामी सामान्य परिवार हौं। एक पेट खान जसोतसो पुग्थ्यो, अब भविष्य झन् अनिश्चित देखिएको छ।”
अनिशकी श्रीमती मञ्जु पौडेलका लागि जीवन एकाएक अवरुद्ध भएको छ। “मेरा दुई साना छोरा छन्, अब उनीहरूको भविष्यले सधैं चिन्तित बनाउँछ,” उनी भन्छिन्। अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन्। निकोलस अहिले कक्षा आठमा पढ्छन्।
करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा थिए। विसं २०४० मङ्सिर १९ गते गोरखाको पालुङ्टारमा जन्मिएका अनिश कोरोना महामारीपछि दुबई र कतारको बसाइँ अन्त्य गरी स्वदेशमै केही गर्ने लक्ष्य लिएर फर्किएका थिए। काठमाडौंको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गरे। व्यवसायले गति लिन नपाउँदै कोरोना फैलियो। साझेदार र उनकी श्रीमतीको निधन भएपछि व्यवसाय चौपट भयो।
कार्पेट व्यवसाय बन्द भएपछि रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गरे। विदेशबाट कमाएको पैसाले बनाएको एकतले घर पनि कोरोनाको समय र व्यवसाय असफलताले बेच्नुपर्यो।
“उनी अरूलाई परेको अन्याय सहन नसक्ने व्यक्ति थिए,” मञ्जु भन्छिन्, “अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उनी गए, फर्केनन्।”

त्यस दिन दिउँसो २:३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाइन्। अस्पताल पुग्दा ढिला भइसकेको थियो। पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने भन्ने प्रश्नले सताइरहेको छ।
अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त थिए। किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक सामान पु¥याउने गर्थे। पसल राम्रै चल्दै थियो। अब यो कसरी चलाउने र परिवार धान्ने भन्ने छटपटी मञ्जुलाई छ।
अनिशका नजिकका साथी सन्दीप खत्री अनिशलाई समाजसेवी स्वभावको व्यक्ति भनेर सम्झन्छन्। “आफ्नो काम जतिसुकै भए पनि अरूलाई समस्या पर्यो भने पहिला सहयोग गर्ने थिए,” उनी भन्छन्, “पछिल्लो समय देशमै केही गर्नुपर्छ भन्ने सोच थियो।”
भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि गोली प्रहारको घटनाबारे उनीहरूबीच लामो कुराकानी भएको थियो। “निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए,” सन्दीप सम्झन्छन्।
घटना भएको दिन त्रिवि शिक्षण अस्पतालमा रहेका सन्दीपले मेट्रो अस्पतालमा अनिशको निधन भएको थाहा पाए। “सरकारबाट सहिद परिवारले पाउने १५ लाख सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन,” सन्दीप भन्छन्, “दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन।”
सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता निकट थियो। पारिवारिक सम्बन्ध पनि थियो। अहिले साथी गुमाउँदा सन्दीपलगायत धेरैलाई एक्लोपन महसुस भएको छ।







