काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने पृथ्वी राजमार्ग अझै अवरुद्ध रहेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी र गजुरी गाउँपालिकाका विभिन्न स्थानमा लेदो थुप्रिएपछि बुधबार साँझदेखि सडक अवरुद्ध भएको हो।
ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार गजुरी गाउँपालिकाका दुई स्थान र गल्छी गाउँपालिकाको एक स्थानमा थुप्रिएको लेदो अझै हटाउन बाँकी छ। गजुरी–५ को गलौदी र बाहुनी भिर तथा गल्छी गाउँपालिकाको महेश दोभानमा लेदो पन्छाउने काम भइरहेको छ।
सडकमा थुप्रिएको लेदो बस्ती क्षेत्रमा समेत रहेकाले हटाएर अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुँदा सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ। बाहुनी भिरमा भने हालसम्म उपकरण पुग्न सकेको छैन। उक्त क्षेत्रमा लेदो हटाउनुअघि गलौदी र महेश दोभानको काम सक्नुपर्ने अवस्था रहेको पाण्डेयले बताए।
लेदो हटाउन आवश्यक उपकरण परिचालन गरी काम भइरहेको र आज दिनभरिमा सडक सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ।






