काठमाडौं । उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई प्रधानमन्त्रीका रूपमा प्रोजेक्सन गर्ने भएको छ । रवि र बालेनबीचको सहमतिमा नसमेटिएका घिसिङलाई उज्यालो नेपाल पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सार्ने भएको हो ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न रहँदै आएका जितराम लामाले अब कुलमानलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेर जनतामा जाने बताए । रवि–बालेन सम्झौतामा उज्यालो नेपाल नसमेटिनुको कारण नीतिगत र वैचारिक अस्पष्टता रहेको उनको भनाइ छ ।
उनेपाले रास्वपा सभापति रवि र बालेनको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा समेट्न नसकेको टिप्पणी गरेको छ ।
रवि र बालेन सातबुँदे सम्झौता गर्नुअघिसम्म उज्यालो नेपालका संरक्षक ऊर्जामन्त्री कुलमान उनीहरुसँग संवादमा थिए । शनिबार दिनभर बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपाले पठाएको एकता प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो ।
त्यसको १२ घण्टा नबित्दै रवि र बालेनबीच सोही प्रस्तावमा सातबुँदे सहमति भएपछि उज्यालो नेपालले जेनजी आन्दोलनको मूल भावनालाई सम्झौताले समेट्न नसकेको बताएको हो । तर रास्वपाका नेताहरू अब कुलमानसँग फाइनल वार्ता हुने बताउँछन् ।
धेरैले कुलमान र प्रचण्डबीच मिलेर जान सुझाव पनि दिएका छन् । कुलमानको अहिलेको राजनीतिक उचाइ बढ्नुमा तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको हात रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । प्रचण्डले कुलमानलाई प्रधानमन्त्रीमा अघि बढाएमा बालेन र रविलाई चुनावमा निकै गाह्रो हुने बताइन्छ ।








