अंकारा । टर्कीको राजधानी अंकाराबाट उडान भरेको एउटा निजी जेट मंगलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सातजनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।
लिबियाका सैन्य प्रमुख, अन्य चारजना वरिष्ठ अधिकारी र तीनजना चालक दलका सदस्य सवार उक्त निजी जेट अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अंकारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।
लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल–हदद र चारजना अन्य अधिकारीको निधन भएको पुष्टि गरेका छन् । उनले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई दुखद दुर्घटनाको संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गरेका छन् ।
जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर थिए । संयुक्त राष्ट्रसंघको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।
दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब छन् । तीनजना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।








