काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । निरन्तर तीन कारोबार दिन ३० अंकले बढेको बजार बिहीबार घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरेको छ । आज १३ मध्ये तीन उपसमूहको परिसूचक बढेको छ । १० उपसमूहको परिसूचक घटेको छ । ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्से घटे पनि कारोबार रकम बढेको छ । आजको बजारमा कारोबारमा आएका २५९ कम्पनीको एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर चार अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । बुधबारको बजारमा चार अर्ब पाँच करोडको सेयर खरिदबिक्री भएको थियो ।
बाराही हाइड्रोपावर कम्पनीको २४ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। राधी बिद्युतको १८ करोड ३५ लाख र बुटवल पावरको करिब १६ करोड १० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सिन्धु विकास बैंकको सेयरमूल्य ९.५६ प्रतिशतभन्दा बढी बढेको छ ।





