काठमाडौं । कांग्रेसमा जस्तै एमाले नेताहरूले राजनीतिबाट स्वेच्छिक अवकाश लिन थालेका छन् ।

कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डे, राजेन्द्रकुमार केसी, रामनाथ अधिकारी र जिपछिरिङ लामाले अब राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

ADVERTISEMENT

एमालेका दुई सिनियर नेताले अब कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।

ADVERTISEMENT

नयाँलाई अवसर दिने भन्दै उनीहरूले अहिले जारी केन्द्रीय कमिटी बैठकमा ११औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने बताएका हुन् । दुवैजना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् । महाधिवेशनअन्तर्गत आगामी नयाँ नेतृत्वका लागि आजबाट बन्दसत्र सुरु हुँदैछ ।

बन्दसत्रअघि आइतबार बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा भाग लिन भृकुटीमण्डप पुगेका ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने स्पष्ट पारे । उनले आफू ७० वर्ष पुगेकाले अब साधारण सदस्यको रुपमा मात्रै सीमित रहने बताए । ‘म ७० पुगिसकेँ, अब कुनै चुनाव लड्दिनँ, साधारण सदस्य मात्रै रहन्छु’, उनले भने ।

शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । उनले फेरि पनि केपी ओली पार्टी अध्यक्ष बनेर आउने भएपछि उनको नेतृत्व नस्वीकार्ने भन्दै सक्रिय राजनीति त्यागेकी हुन् । केही दिनअघि मात्र शाक्यले ओलीले महिलालाई हेर्ने दृष्टिकोण निकै साँघुरो रहेको आरोप लगाएकी थिइन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरेपछि शाक्य ओलीसँग निकै आक्रोशित छिन् ।