हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् ।
सो आगलागी पछिल्ला दशकहरूमा सहरले सामना गरेको सबैभन्दा भीषण घटनामध्ये एक मानिएको छ । अधिकारीहरूका अनुसार आगलागी बाहिरी मचानमा प्रयोग गरिएको जालमार्फत तीव्र गतिमा फैलिएको थियो, जसले आवश्यक अग्नि–प्रतिरोध मापदण्ड पूरा गर्न नसकेको र अग्नि रोकथाम प्रणालीले भरपर्दो रूपमा काम गर्न नसकेको प्रारम्भिक जाँचले देखाएको छ ।
सहरका नेता लीले पत्रकार सम्मेलनमा भने, ‘भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरीहरू गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले म न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र समिति गठन गर्नेछु ।’
हङकङमा ‘अनुसन्धान आयोग’ गठन गर्ने कानूनी व्यवस्था विगतदेखि नै छ, जुन सामान्यतया जटिल घटनाका तथ्य पहिचानका लागि न्यायाधीशहरूले नेतृत्व गर्दै आएका छन, तर यसपटक लीले ‘स्वतन्त्र समिति’ भन्ने फरक शब्द प्रयोग गरेका छन् ।
लीले एएफपीसँगको कुराकानीमा धेरै स्तरमा असफलता देखा परेकाले सुरक्षा, निगरानी, निर्माण र मर्मतसम्बन्धी मापदण्डमा तत्काल सुधार आवश्यक रहेको बताए । उनका अनुसार यस्ता घटनाबाट सहरलाई सुरक्षित राख्न सम्पूर्ण भवन नवीकरण प्रणालीमा सुधार कार्य अघि बढाइनेछ ।
उक्त घटनाको संयुक्त अनुसन्धान गर्दै आएको हङकङको भ्रष्टाचार–विरोधी प्रहरी र सामान्य प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरिसकेका छन् । तीमध्ये १३ जनालाई आगलागीका कारण भएका मृत्युमा संलग्न भएको शंकामा पक्राउ गरिएको हो ।
घटनापछि सहरभरि ठूलो शोक वातावरण छाएको छ, साथै व्यापक जवाफदेहिताको माग पनि उठिरहेको छ । तर स्थानीय मिडियाले जिम्मेवारी माग्ने केही नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ ।
२४ वर्षीय विद्यार्थी माइल्स क्वानलाई सरकारी जवाफदेहिताको माग गर्दै फ्लायर वितरण गरेको आरोपमा राजद्रोही अभिप्रेरणा शीर्षकमा पक्राउ गरिएको बताइएको छ । क्वानका चार मागसहितको अनलाइन निवेदनले सामग्री मेटिनु अघि एक दिनमै १० हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको थियो । स्थानीय समाचारअनुसार पूर्व जिल्ला पार्षद केनेथ चेउङसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।








