काठमाडौँ, विश्वभर आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा भर्ती गराउनेजस्ता आधुनिक दासत्वका रूपविरुद्ध चेतना जगाउँदै यस दिवसको उद्देश्य पूरा गरिन्छ।
संयुक्त राष्ट्रसंघले सन् १९४९ डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ।
राष्ट्रसंघका तथ्यांकअनुसार अहिले पनि विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा रहेका छन्। तीमध्ये अधिकांश महिला र बालबालिका जबरजस्ती श्रम वा अन्य प्रकारका शोषणमा पारिनुपर्छ भन्ने बाध्यतामा छन्।
जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार र असमानताका कारण केही समुदाय अझै उच्च जोखिममा रहेको पाईन्छ। विशेषगरी प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा फस्ने गरेको देखिन्छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य अत्यावश्यक हुने बताउँदै पीडितको उद्धार, पुनर्स्थापना, न्याय र दीर्घकालीन सुरक्षामा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ।






