काठमाडौं । वैकल्पिक राजनीतिक दलको नारा बोकेर उज्ज्वल थापाले गठन गरेको विवेकशील साझा आइतबारदेखि इतिहास बन्ने भएको छ । विवेकशील साझा पार्टी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएपछि थापाले सुरु गरेको वैकल्पिक राजनीतिक दलको एजेन्डा शून्यमा पुगेको हो ।
आइतबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाको दाबी छ । विवेकशील साझा पार्टीले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त स्वीकार गरेको हो।
२०७० सालमा गठन भएको विवेकशील नेपाली र साझा पार्टीबिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ बनेको थियो। एकता अगाडि विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व थियो। थापाको मृत्यु भइसकेको छ भने मिश्र राप्रपामा प्रवेश गरेका छन्।
अहिले विवेकशील साझा पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना छन्। एकताका लागि रास्वपाले उपसभापति स्वर्णिम वाग्ले र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनाएको थियो। आगामी चुनावमा रास्वपामा विलय हुँदा जनप्रतिनिधि बन्न पाइन्छ कि भन्ने आश विवेकशील साझा पार्टीका नेतामा देखिएको छ ।
विवेकशील साझा र रास्वपाबीच एकीकरण हुँदै गर्दा मिलन पाण्डे भने सहभागी नहुने भएका छन् । उनले विवेकशील र रास्वपाको एकीकरणलाई शुभकामना दिँदै आफू आजबाट स्वतन्त्र भएको बताएका छन् । केही समय कुलिङ पिरियडमा बसेर नयाँ राजनीतिक यात्रा घोषणा गर्ने उनले बताएका छन् । पाण्डेले रास्वपासँग एकता गर्न चाहेका थिएनन् । तर समीक्षा बासकोटा र प्रकाशचन्द्र परियारका अगाडि उनको कुनै जोड चलेन ।
‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ। म यो एकीकरणमा सामेल छैन। अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु। आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। ‘वेकशील पनि ‘स्वतन्त्र’ भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । पाण्डेले फेरि विवेकशील पार्टी पुनर्गठन गर्ने बताइन्छ ।







