काठमाडौं । चुनावको वातावरण बनाउन सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलगायत राजनीति दलका नेता र सरकारी अधिकारीहरूलाई तोकिएको स्थान हद हटाउने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एमालेका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचनका विषयमा साथ दिन आग्रह गरेकी थिइन् । जवाफमा एमाले नेताहरूले प्रमुख दलको प्रमुख नेतालाई स्थान हद तोकेर निर्वाचन गराउन सम्भव नभएको बताएका थिए ।

‘निर्वाचनको वातावरण बन्छ। सरकार निर्वाचनको वातावरण बनाउन तयार छ। अहिलेको सरकार निर्वाचन गराउन र नियमित काम गर्न मात्रै बनेको हो। त्यसकारण एमाले निर्वाचनमा सहभागी हुनुपर्छ र सहयोग गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

ADVERTISEMENT

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला बालुवाटार पुगेका थिए । जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई स्थान हद तोकेको विषयमा एमालेले गम्भीर आपत्ति जनाएको थियो। सरकारले यो विषयमा स्पष्ट जवाफ नदिए पनि निर्वाचनको वातावरण बनाउन स्थान हद, अध्यागमनको कालोसूचीजस्ता विषयलाई हटाउने संकेत दिएको हो।

ADVERTISEMENT

जेनजी आन्दोलनका क्रममा छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई स्थान हद तोकेपछि पोखरामा गर्ने भनिएको एमालेको ११औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको थियो। स्थान हदपछि एमाले अध्यक्ष आफ्नो निर्वाचन क्षेत्र झापासमेत जान चाहेका छैनन् । ओलीले पनि सार्वजनिक रूपमै स्थान हद कायम गरेकोप्रति आपत्ति जनाएका छन् ।

ADVERTISEMENT

छलफलमा एमाले नेताहरूले निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङमाथिको स्थान हदले सुरक्षा निकायलाई गम्भीर बनाएको भन्दै भागेका कैदीबन्दी, लुटेका हतियारको विषयमा गम्भीर चासो राखेका थिए।