काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा आइतबार रिटमाथि सुनुवाइ गर्दै लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्चले ११ राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको मागबमोजिम ‘आदेश किन जारी हुनु नपर्ने हो’ भनी १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर, प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशक दिएकी थिइन् ।

हाल सात देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन् । चारजना राजदूतले दिएको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ । सात राजदूत भने अहिले परराष्ट्र मन्त्रालय जाने र हाजिर गरेर फर्किने गरेका छन् ।

अदालतको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, विशाल थापाले अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार,प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई प्रतिवादी बनाइएको छ ।