काठमाडौं । कमेडी विथ च्याम्पियन रियालिटी शोका निर्देशक विशाल भण्डारीले आफू एमालेमा आबद्ध नभएको प्रस्टोक्ति दिएका छन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीको सुरक्षा दस्तामा भण्डारीमा पनि रहेको भन्ने किसिमका समाचार मिडियामा आएपछि उनले त्यसको खण्डन गर्दै आफू कुनै पनि पार्टीमा आबद्ध नभएको दाबी गरेका छन् । कुनै एउटा तस्बिर र भिडियोका आधारमा यस्ता खाले भ्रम नफैलाइदिन उनले आग्रह गरेका छन् ।

महेश बस्नेतको घरमा भेटघाट क्रममा खिचिएको फोटो भाइरल बनेपछि भण्डारीले आफू कुनै राजनीतिक समूहसँग नजोडिएको स्पष्ट पारेका छन्। भण्डारीले पछिल्लो समय आफूलाई परेको व्यक्तिगत समस्याका कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भेट्न गएको भन्दै अहिले पनि त्यही समस्याका कारण प्रधानमन्त्री कार्यालय गइरहेको पनि प्रस्ट पारेका छन् ।

ADVERTISEMENT

‘पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालीन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र विभिन्न कार्यालयहरू, नेताहरू तथा सम्बद्ध व्यक्तिहरूसँग भेटघाट गरिरहेको थिएँ। जेनजी आन्दोलनपछि पनि त्यही समस्या लियर अहिलेको प्रम कार्यालय र गृहका सथीहरुसँग सम्पर्कमै थिएँ र छु,’ उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

ADVERTISEMENT

भण्डारीले ओली मात्र होइन, धेरै ठाउँमा धेरैलाई भेटेको तस्बिर र प्रमाण आफूसँग रहेको उल्लेख गरेका छन् । ‘त्यसैबीच महेश बस्नेतज्यूको घरमा भेटको क्रममा खिचिएको एउटा फोटो भिडियो अनावश्यक रूपमा भाइरल बनाइयो। एकजना व्यक्तिसँग नितान्त व्यक्तिगत समस्या सुनाउन र सुल्झाउन भेटेको आधारमा म कुनै राजनीतिक धार वा समर्थनमा छु भन्ने गलत बुझाइ नगरिदिनुहोला। आजसम्म पनि सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो। म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको छैन, न कुनै समूह, दल वा व्यक्तिको समर्थनमा म त्यहाँ गएको थिएँ,’ उनले भनेका छन् ।

यसअघि केही ओलीको समर्थनमा बोलेकै कारण गायक कलाकार प्रकाश सपूतको सांगीतिक क्यारियरमै धक्का लागेको थियो । अहिले उनलाई विस्तारै चिर्दै गएका छन् ।