काठमाडौं । कमेडी क्लब विद च्याम्पियन्सका निर्माता तथा निर्देशक विशाल भण्डारी र अर्का लगानीकर्ता हरि भट्टराईबीचको आरोप प्रत्यारोप झन् झन् बढ्दै गएको छ । एक सातादेखि दुईबीचको एकले अर्कोलाई झटारो हान्ने क्रम रोकिएको छैन ।
भण्डारीले आफूलाई मानसिक तथा आर्थिक रुपमा टर्चर दिने भट्टराईलाई मंगलबार पनि सामाजिक सञ्जालमार्फत खुल्ला चेतावनी दिएका छन् । उनले आफूलाई पीडा दिन भट्टराईले जारी गरेको विज्ञप्तिको जवाफ दिँदै चेतावनीको शैलीमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका छन् ।
भण्डारीले एनआरएनको एशिया प्यासिफिक क्षेत्रको संयोजकसमेत रहेका भट्टराईलाई सम्वोधन गर्दै आफ्नो स्टाटसको थालनी गरेका छन् । उनले आफूलाई वर्ष दिनभरि टर्चर दिँदा आफूले टर्चर सामना गर्दै विदेश नभागेको बताएका छन् । आफूले नेपालमै बसेर समस्याको सामना गरेर कानुनी लडाइँ थालेको बताउँदै आफू भागिरहँदा लखेटेको–लखेटै, तर जब आफूले फर्केर पलटवार गर्दा भट्टराई मलेशिया भागेको उल्लेख गरेका छन् ।
‘सही मान्छेले समस्याको सामना गर्छ, यति हिम्मत त राख्नुपर्ने हो । जे होस् भागेर, सामना नगरेर समस्या समाधान हुँदैन, सामना गर्नैपर्छ । न्याय–अन्यायको फैसला नेपालको कानुनले गर्ने नै छ,’ उनले भनेका छन् ।
भण्डारीले भट्टराईलाई कम्पनीप्रतिको जिम्मेवारीको विषयमा प्रश्न पनि सोधेका छन् । ‘यसरी हाम्रो टिमलाई अलपत्र पारेर हिँड्न, भाग्न सुहाउँछ ? व्यवहार मिलाउनुपर्दैन ?’ उनको प्रश्न छ ।
केही सञ्चारमाध्यममा भट्टराईले बोलेको कुरा नै आफ्नो खुट्टामा आफैँले बञ्चारो हाने झैँ भएको बताउँदै भण्डारीले लगानी गरेको पैसा र आफूबाट लिएको पैसाको तारतम्य मिलाउन भट्टराईलाई सकस परेको पनि खुलाएका छन् । ‘बिना अडिट सावाँ र व्याज शैलीमा पैसा असुलेको प्रस्ट देखिन्छ । मिटरब्याजीमा मुद्दा दर्ता गर्न हामीलाई बाध्य नबनाउनु होस्,’ उनले लेखेका छन् ।





