झापा । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दङ्गालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख गोम्देनले संस्थाका ज्येष्ठ सदस्य गोपिकृष्ण पराजुली र अन्तर समूह–३ (घ) की अध्यक्ष उर्मिला खतिवडालाई मेसिन वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेकी हुन् । अध्यक्ष दङ्गालका अनुसार सहकारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एक समूह–एक मकै रोप्ने मेसिन वितरण गरिएको हो । सहकारीमा आबद्ध २३४७ सेयर सदस्यलाई ४४४ थान मकै रोप्ने मेसिन वितरण गरिएको छ ।
त्यसैगरी अन्तर समूह–४ भाङ्गबारीलाई ४२ थान हलो वितरण गर्ने तयारी गरिएको छ । ‘किसानले अथक मेहनत गरिरहे पनि भरपर्दो उपकरणको अभावले उत्पादनमा अपेक्षित वृद्धि हुन सकिरहेको छैन,’ अध्यक्ष दङ्गालले भने,‘यी उपकरणले श्रम गर्न सजिलो बनाउनाका साथै उत्पादन वृद्धिमा टेवा पु¥याउने हाम्रो अपेक्षा छ ।’
सहकारीले वितरण गरेको कृषि सामग्री संस्था र शेयर सदस्यको ५०–५० प्रतिशत साझेदारीमा उपलब्ध गराइएको हो । किसानमैत्री कार्यक्रमलाई प्रवर्द्धन गर्न सहकारीको पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख गोम्देनले नगरपालिकाले पनि किसानमुखी कार्यक्रम सहकारीसँगको साझेदारीमा अघि बढाउने प्रतिबद्धता जनाए ।
संस्थाले अर्जुनधारा नगरपालिकाअन्तर्गत वडा नं १, २, ३, ४, ५ र ७ लाई कार्यक्षेत्र बनाउँदै बर्सेनि समूहगत सहकार्यमा मल, बीउ तथा कृषि औजार वितरण गर्दै आएको छ ।






