काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
भोलिदेखि शुरू हुने एनपीएलका खेलहरू नेपालका दर्शकका लागि कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको हो । विदेशमा भने स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने छ । यस्तै एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमले पाएको छ ।
एनपीएलको उद्घाटन खेलमा भोलि दिउँसो ४ बजे कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्नेछन् । यस पटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ ।







