काठमाडौं । ‘परान’ पछिल्लो समय सर्वाधिक रुचाइएको चलचित्र बनेको छ । सुरुका तीन दिन खासै शो नपाएको र व्यापार पनि न्यून भएको यो चलचित्रले दुई सातामै साढे सात करोडको व्यापार गरेको छ । शुक्रबारको कमाइसमेत जोड्दा आठ करोड नाघ्ने निर्माताहरूले बताएका छन् ।

शुक्रबार अपरान्ह ३ बजेसम्म चलचित्रको कमाइ चलचित्र विकास बोर्डको बक्स अफिसमा ५३ लाख रुपैयाँ ग्रस छ । आज बेलुकी र रातिका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएकाले चलचित्रको कमाइ शुक्रबारमात्र ७० देखि ८० लाख पुग्ने प्रक्षेपण गर्न सकिन्छ ।

शनिबार चलचित्रले कूल २३३ शोज पाएको छ । शनिबार पनि धेरै शोज ८० देखि १०० प्रतिशत अकुपेन्सीसहित हुने देखिन्छ । यसको चलचित्रले तेस्रो सप्ताहन्तमा नौ करोड आसपासमा कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

ADVERTISEMENT

चलचित्रले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको छ । यो गति कायम रहे नवनिर्देशक दीपक आचार्यको ‘परान’ सजिलै १० करोड क्लबमा पर्नेछ ।

ADVERTISEMENT

यस वर्ष विपीन कार्की र मिरुना मगरको ‘ऊनको स्विटर’, र अनमोल केसी स्टारर ‘जेरी अन टप’ १० करोड कमाउने चलचित्र बनिसकेका छन् । अब चाँडै ‘परान’ पनि सोही क्लबमा पर्ने निश्चित छ । चलचित्रलाई उद्योगपति शेखर गोल्छा र रञ्जित आचार्यले बनाएका हुन् ।

‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठीलगायतका कलाकारको अभिनय रहेको छ ।